गुजुमुज्ज ढुंगे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने यही कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ ।
पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यस गाउँमा हाल ४३ घर परिवारको मात्रै बसोबास रहेको स्थानीय तबहादुर छन्त्यालले बताए । तीन वर्षअघि सडक सञ्जाल जोडिएर साना सवारीसाधन गुड्न थालेसँगै गाउँ रित्तिन थालेको हो । ‘मोटरबाटो त आयो तर, मोटर चढेर गाउँ आउने भन्दा गाउँ छाडेर बसाइँ सर्ने बढे,’ रघुगंगा गाउँपालिका–८ का वडासदस्य अगेन्द्र छन्त्यालले भने, ‘बसाइँसराइका कारण गाउँ युवाविहीन भएको छ ।’
कुइने टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालका अनुसार गाउँमा सडक आए पनि विकासका अरु पूर्वाधार नहुँदा सुविधाको खोजीमा गाउँ छाडेर बसाइँ जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । गाउँमा मोटरबाटो आएपछि सदरमुकाम बेनी जान दिनभर पैदल हिँड्नुपर्ने बाध्यता हटेपनि अरु समस्या उस्तै छ । ‘मोटर चढेर बेनी पुग्न एक हजार २०० भाडा लाग्छ । बाटो राम्रो छैन । खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका सुविधाबाट हामी वञ्चित छौँ,’ उनले भने ।
भौगोलिक विकटताले गर्दा एक गाउँबाट अर्को गाउँ जान दिनभर पैदल यात्रा गर्नुपर्छ । विकट गाउँबस्तीका कारण यस वडाको सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा छ । अधिकांशले छोराछोरीको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउने गरेका छन् ।
वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय विद्यार्थीविहीन हुन थालेको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर कक्षा पाँचसम्म मात्रै पठनपाठन गराउन थालिएको छ । केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीयले लघु जलविद्युत्बाट विद्युत् उपभोग गर्दै आएका थिए ।
त्यो पनि बाढी पहिरोले निरन्तर क्षति पुर्याएपछि हैरानी बेहोर्नुपरेको छ । कुइनेटो परेको खर्कमा तामाखानी भएकाले यस ठाउँको नाम कुइनेखानी रहन गएको बूढापाकाहरुको भनाइ छ । खानी खन्ने क्रममा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको स्थानीय ७८ वर्षीय टेकबहादुर छन्त्यालले बताए । खानी खन्ने काम बन्द भएपछि यहाँ बसोबास घट्दै गएको उनको भनाइ छ । हाल यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।
आर्थिक रुपले सम्पन्नहरु बेनी, पोखरा, बुटवल, दाङ, भैरहवा लगायतका ठाउँमा बसाइँ गएका छन् । यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्तीमा हाल सडक सञ्जाल जोडिएको छ । स्थानीयले उत्पादन गरेका तरकारी लगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ । तर पनि यहाँका अधिकांश विदेश पलायन भएका छन् । बस्तीमा मान्छे बस्न छाडेपछि गाउँका धेरै घरमा ताला लगाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
ध्रुवसागर शर्मा । म्याग्दी