सूचनाको शक्ति - The Power Of Information

        

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेवापत रु ५०० देखि ८०० र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

उनीहरूले माछामार्ने जाल, ढकी, खेलौना लगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ ।

साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ । ‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्,’ कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । १०० जना क्षमताको कारागारमा ४१५ जना बन्दी छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतवार ०८:२८

लोकप्रिय