शनिबार राति विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले दमास्कसतर्फ अघि बढेपछि सरकारी सेना र विद्रोहीबीच गोलाबारी सुरु भएको थियो । एचटीएएस राजधानी दमास्कस प्रवेश गरेको केहीक्षणमै सिरियाका राष्ट्रपति बसर अल–असदले देश छोडेर भागेको दाबी विद्रोही समूहले गरेको छ । तर असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन ।
समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जनाएको छ । विद्रोहीहरूले सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरेको बताएका छन् । यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो । इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ ।
इरान र हिजबुल्लाहले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएका थिए । रुसको साथ पनि राष्ट्रपति असदलाई थियो । सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोही समूह एचटीएएस शनिबार राति राजधानी दमास्कस प्रवेश गरेका थिए । इस्लामिक विद्रोही समूह एचटीएएसले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ । विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन् ।
यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन् । बहराले अरबी समाचार च्यानल अल–अरेबियालाई भने, ‘असदको सरकार पतन भएको छ र सिरियाको इतिहासको कालो युग बितिसकेको छ । सबै सम्प्रदाय र धर्मका मानिसहरू जबसम्म तपाईंहरु अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।
उनले थप स्पष्ट पार्दै लेखेका छन्, ‘बदला लिन कुनै कारबाही गरिने छैन, न त मानवअधिकार हनन नै हुनेछ । जनताको सम्मान र रक्षा गरिनेछ ।’ विद्रोही समूह एचटीएएसले दमास्कस कब्जा गरेको घोषणा गरेको छ । विद्रोहीले अब प्रधानमन्त्रीले सार्वजनिक संस्थाको जिम्मेवारी लिने बताएका छ । आफ्ना सैन्य बलहरूलाई हाल दमास्कसमा अवस्थित सार्वजनिक संस्थाहरू नजिक जान प्रतिबन्ध लगाइएको एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेको छ ।
विद्रोही समूह एचटीएएसले केही समयपछि टेलिभिजनमा आम जनतालाई सन्देश प्रसारण गर्ने बताएको छ । यसअघि आइतवार विहान समूहले दमास्कसको रेडियो र टेलिभिजन मुख्यालयलाई नियन्त्रणमा लिएको बताएको थियो । सरकारी रेडियो र टेलिभिजनबाट आफ्नो विजयको घोषणा गर्ने एचटीएएसले जनाएको छ । विद्रोही राजधानी दमास्कसमा प्रवेश गरेपछि सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो ।
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार मानिसहरू दमास्कसको बीचमा उम्मेद स्क्वायरमा खुसीयाली मनाइरहेका छन् । यस चोक वरपर धेरै सरकारी भवनहरू छन् । सिरियाका विद्रोही समूह राजधानी दमास्कस कब्जा गर्न उत्तर, पूर्व र दक्षिणबाट अगाडि बढेका थिए । दमास्कसमा बस्ने ४२ वर्षीय पत्रकार जैना साहलाले शनिबार राति राजधानीका सडक सुनसान भएको बीबीसीलाई बताएकी थिइन् ।
उनका अनुसार विद्रोहीहरूसँग लडाइँको खबर आएपछि ठूलो संख्यामा मानिसहरू अत्यावश्यक सामानहरू संकलन गर्न बिहानै दमस्कसमा सडकमा देखिएका थिए । जैना साहलाले भनिन्, ‘हामी डराएका छौं किनकी हामीलाई थाहा छैन के हुन्छ । दमास्कसमा कोही पनि युद्ध चाहँदैनन् । जताततै भ्रम छ र कसैलाई केही थाहा छैन ।’ लन्डन स्कूल अफ इकोनोमिक्समा सिरिया द्वन्द्व अनुसन्धान कार्यक्रमका निर्देशक रीम तुर्कमानीले पनि दमस्कसको बारेमा यस्तै धारणा राखे ।
उनकी बहिनी दमस्कसमा बस्छिन् र उनले रिमलाई बताएअनुसार दमास्कसमा पसलहरू बन्द छन्, अत्यावश्यक सामानको अभाव बढ्दै छ र एटीएमहरू खाली छन् । तुर्कमानीले बीबीसीलाई भने, ‘के हुँदैछ भनेर कसैलाई थाहा थिएन ।’ झन्डै एक दशकदेखि चलिरहेको गृहयुद्धमा अन्य सहरमा जति हिंसा भएको छ, त्यो दमास्कसमा कहिल्यै देखिएको थिएन । यही कारण यहाँका बासिन्दामा स्थिरताको अनुभूति भएको साहलाले बताइन् ।
उनी भन्छिन्, ‘यदि कुनै पनि प्रकारको परिवर्तन भयो भने यो धेरै सजिलै हुनेछैन ।’ दमास्कस प्रवेश गर्नुअघि विद्रोहीहरुले दमास्कसको उपनगर जर्मानामा बसर अल–असदका पिता हाफेज अल–असदको मूर्ति भत्काएका थिए । गत हप्ता एचटीएसले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो र हामाका उत्तरपश्चिमी सहरहरूलाई कब्जा गरेको थियो । त्यसपछि तेस्रो ठूलो शहर होम्स कब्जा गरेको थियो । होम्स कब्जा गरेपछि विद्रोही राजधानी प्रवेश गरेको थियो । शनिबार राति एचटीएसले रणनीतिक रूपमा महत्त्वपूर्ण शहर होम्सलाई पूर्णरूपमा कब्जा गरेको दाबी गरेको थियो ।
समूहले सहरको सैनिक कारागारबाट तीन हजार ५०० कैदीलाई रिहा गरेको थियो । होम्स सिरियाको तेस्रो ठूलो सहर हो र यसले तटीय क्षेत्रहरूलाई राजधानी दमास्कससँग जोड्छ । विद्रोही कमाण्डर हसन अब्दुल घानीले सरकारी सेनाले सहर खाली गरिरहेको र वरिष्ठ अधिकारीहरूको समूहले सुरक्षित पलायनका लागि आफूहरुसँग समन्वय गरिरहेको दाबी पनि गरेका छन् । एचटीएस प्रमुख अबु मोहम्मद अल जुलानीले होम्सको कब्जालाई ‘ऐतिहासिक विजय’ रूपमा वर्णन गर्दै आत्मसमर्पण गर्नेहरूलाई हानि नगर्न आफ्ना लडाकुहरूलाई अपील गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं