बाँकेको राप्तीसोनारी गाउँपालिका–८, शमशेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ, तर पनि किसानले माग अनुसार भुरा पाउन सकेका छैनन् । केन्द्रको कुल ३.५९ हेक्टर जमिनमध्ये जलाशय जमिन १.८२ हेक्टर रहेको छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि सानाठुला गरेर २३ वटा पोखरी निर्माण गरिएका छन् ।
जसमध्ये रेयरिङ पोखरी चार वटा, नर्सरी पोखरी १२ वटा, माउ पोखरी छ वटा र खाने माछा पोखरी एउटा रहेको छ । ‘हामीले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्छौं, हरेक वर्ष लक्ष्यभन्दा धेरै उत्पादन गरिरहेका छौँ, जति उत्पादन बढाएका छौँ, त्योभन्दा कैयौँ गुणा धेरै माग हुने गरेको छ,’ केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले भने, ‘हामीले उत्पादन गरेका भुराले किसानको माग २५ देखि ३० प्रतिशत मात्र धानेको छ ।’
चौधरीका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङ्गरलिङ’ भुरा १२ लाख र खाने माछा (इयरलिङ) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखिएको थियो तर लक्ष्यभन्दा धेरै उत्पादन गरिएको चौधरीले बताए । ‘गत वर्ष हामीले लक्ष्य राखेकोभन्दा धेरै भुरा उत्पादन गर्यौँ, ‘ह्याचलिङ’ भुरा दुई करोड ३० लाख, ‘फ्राई’ भुरा २६ लाख ८४ हजार, ‘फिङ्गरलिङ’ भुरा २३ लाख १७ हजार र खाने माछा नौ क्विन्टल ८४ केजी उत्पादन भएको छ,’ चौधरीले भने ।
उनका अनुसार माछाका भुरा र खाने माछा बिक्रीबाट गत वर्ष ३३ लाख ८२ हजार ३९८ रुपियाँ राजस्व सङ्कलन भएको छ, हरेक वर्ष उत्पादन पनि बढिरहेको छ र राजस्वमा पनि वृद्धि हुँदै गएको छ । सूचना अधिकारी चौधरीका अनुसार अन्डाबाट निस्केको पाँचदेखि सात दिनको भुरालाई ‘ह्याचलिङ’, २५ देखि ३५ दिनसम्मलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मलाई ‘फिङ्गरलिङ’ र ४५ देखि ६० दिनसम्मलाई ‘एडभान्स ‘फिङ्गरलिङ’ र ६० दिनदेखि माथिलाई ‘इयरलिङ’ भनिन्छ ।
लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेको उक्त केन्द्रले ग्रासकार्प, सिल्भर, बिगहेडकार्प, भाकुर, रहु तथा नैनी, कमनकार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ । आव २०७९–०८० मा ‘ह्याचलिङ’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङ्गरलिङ’ भुरा २० लाख चार हजार र खाने माछा ६.३० क्विन्टल उत्पादन भएको थियो ।
उक्त आवमा माछाजन्य वस्तुको बिक्रीबाट २९ लाख ८२ हजार ६७१ रुपियाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके