२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

दसौँ राष्ट्रिय खेलकुदको मिति सर्‍यो, चैत २३ देखि हुने

दसौँ राष्ट्रिय खेलकुदको मिति फेरि सारिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार आउँदो चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय भएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुदको मिति सारेर नयाँ मिति तय गरेको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको छ । यसअघि पनि राखेपले दसौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने भनेको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने निर्णय लिएको थियो ।

खेलकुदमन्त्री चौधरीले केही दिनअघि पोखरा पुगेर खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन नसकेको र अब फागुन अन्तिम सातातिर गर्ने लक्ष्य राखेको बताएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार