सूचनाको शक्ति - The Power Of Information

        

भैरहवाबाट एक महिनामै १५० बढी उडान, पाँच हजारले गरे हवाई यात्रा

मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भएर एक महिनामा १५० भन्दा बढी अन्तरराष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार ७७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक महिनाको अवधिमा फ्लाई दुबईले सर्वाधिक उडान भरेको छ ।

तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फ्लाई दुबईले एक हजार ११३ यात्रु भैरहवा ओरालेको र भैरहवाबाट १९ जनालाई दुबई लगेको तथ्याङ्क छ ।

गौतमबुद्ध विमानस्थलमा अन्तरराष्ट्रियतर्फ एक महिनामा दुई हजार २३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार ५३३ यात्रु भैरहवा ओर्लिएका छन् । साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार ४६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

एक महिनामा कूल १५६ उडान–अवतरण भएका विमानस्थलले जनाएको छ । थाइ एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ ।

महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यले भन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ । अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ ।

सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ ।

पछिल्ला दिनमा भैरहवाबाट अन्तरराष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सङ्घीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ०९:३९

लोकप्रिय