खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरुसँग २२ हजार क्वीन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २० गते मङ्गलबारबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर १९ गतेसम्म एक महिनामा २२ हजार ७४८ दशमलव ४७ क्वीन्टल धान खरिद गरिसकेको जनाएको हो ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिएको थियो । तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्वीन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्वीन्टलको लक्ष्य लिएको छ ।
३० हजार क्वीन्टल मोटा धान र १० हजार क्वीन्टल मध्यम गरी यस वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्वीन्टल थप गरी ५५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले बताए ।
‘यस वर्ष हामीले नेपालगन्ज कार्यालयबाट ३० हजार क्वीन्टल मोटा र १० हजार क्वीन्टल मध्यम गरी ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य थियो, यहाँका किसानहरुले मध्यम धानको खेती बढी गर्ने गरेको पाइयो, किसानहरुले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो,’ लामिछानेले भने, ‘मध्यम धान धेरै आएपछि केन्द्रीय कार्यालयसँगको समन्वयमा मध्यम धान थप १५ हजार क्वीन्टल खरिद गर्नेगरी कुल ५५ हजार क्वीन्टलको लक्ष्य राखेका छौँ ।’
पछिल्लो समय बाँकेका किसानहरु मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । ‘२५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म १९ हजारभन्दा बढी क्वीन्टल खरिद गरिसकेका छौँ, २५ हजारभन्दा बढी खरिद गर्न सक्दैनौँ,’ लामिछानेले भने, ‘लक्ष्य पूरा भइसकेपछि कोही किसान मध्यम धान बिक्री गर्न इच्छुक भए मोटा धानको मूल्यमा खरिद गर्न सक्छौँ तर मध्यम धानको मूल्यमा खरिद गर्न सक्दैनौँ ।’
गत वर्ष ५१ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्वीन्टल धान खरिद गरेको थियो । ‘गत वर्ष हामीले ५१ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहे पनि लक्ष्यभन्दा निकै कम जम्मा आठ हजार क्वीन्टल मात्र खरिद भयो,’ लामिछानेले भने, ‘गत वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा किसानहरुले बढी मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरुमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।’
गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पूरा गर्न सकिने अपेक्षा गरिएको उनले बताए । ‘गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अगाडिबाट सुरु गरेका छौँ, त्यसकारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ,’ लामिछानेले भने ।
उनले गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु भएकोमा यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेको बताए । उनले भने, ‘यसवर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा पनि लक्ष्य पूरा गर्ने आशामा छौँ ।’ यो एक महिनाको अवधिमा मोटा धान ३२९०.९९ क्वीन्टल र मध्यम धान १९४५७.४८ गरी २२७४८.४७ क्वीन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।
मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको घिमिरेले बताए । ‘एक महिनाको अवधिमा धान बिक्री गर्नका लागि ६७१ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसक्नुभएको छ, अहिलेसम्म ४०३ जना किसानसँग धान खरिद गरिसकेका छौँ,’ सूचना अधिकारी घिमिरेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्वीन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’
धान खरिद गर्नुअघि किसानहरुले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको उनले बताए । ‘पहिला पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनु पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने । कम्पनीले यो एक महिनाको अवधिमा बाँकेका किसानसँग आठ करोड आठ लाख ९३ हजार रुपैयाँभन्दा बढीको धान खरिद गरेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके