ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज–मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ ।
यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् ।
अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन । ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउँछन् ।
‘पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्,’ नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने, ‘यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।’ ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू ।
व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठूलो परिमाणमा पस्मिना लगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् । पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ ।
‘विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै १५० देखि २०० हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन,’ व्यवसायी थापाले सुनाए । ठमेलमा एक हजार २०० भन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ ।
यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताए । कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउँछन् ।
शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् । फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् ।
ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन । ‘यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्,’ उनले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं