सूचनाको शक्ति - The Power Of Information

        

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दा काठमाडौंलाई सुदूरपश्चिमको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।

एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ । जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन् ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो । जनकपुर आजको खेलमा पोखरालाई हराउँदै अंक तालिकाका शीर्ष स्थानमा कायमै रहन चाहन्छ ।

उता पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ । पोखराले एनपीएलको पहिलो खेलमा बिर्सनलायक प्रर्दशन गरेको थियो । पोखरा आजको खेलमा त्यो हारलाई बिर्सिँदै नयाँ सुरुवात गर्न चाहन्छ ।

आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ । एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ ।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो । सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा काठमाडौँ जितको लयलाई कायम राख्न चाहन्छ ।

काठमाडौं करण केसीको कप्तानीमा मैदान उत्रिँदैछ । सुदूरपश्चिमको कमान्ड भने दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै छन् । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै एनपीएलमा सुखद सुरुवात गरेको थियो । सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०७:३०

लोकप्रिय