सूचनाको शक्ति - The Power Of Information

        

एनपीएलमा आज दुई खेल हुँदै, बागमतीका दुई टोलीबीच भिडन्त

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।

कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजले प्रतियोगिताका लागि एक हप्ताको तयारी गरेको छ । केही दिन चितवनमा अभ्यास गरेको टोलीले प्रतियोगिताको निकिँदै गर्दा मुलपानीमा प्रशिक्षण समय बिताएको थियो । टोलीको मुख्य प्रशिक्षकमा नेपाली सिनियर पुरुष टोली सम्हालिसकेका उमेश पटवाल छन् ।

चितवनले पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमध्ये इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा चर्चित नाम हुन् । यसबाहेक टोलीले पाकिस्तानका सोहेल तान्विर, अफगानिस्तानका हसन इसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन र नामिबियाका जान निकोल लोफ्टी इटोनलाई अनुबन्ध गरेको छ । सबै विदेशी खेलाडी नेपाल आइसकेका छन् ।

बोपारा आइतबार राति मात्रै आइपुगेकाले काठमाडौंविरुद्ध मैदान उत्रिने सम्भावना निकै कम छ । रिजन ढकाल, शरद भेषवाकर चितवनका चर्चित घरेलु अनुहारहरु हुन् । करण केसी मार्की खेलाडी रहेको काठमाडौंको मुख्य प्रशिक्षकमा राष्ट्रिय टालीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही छन् । काठमाडौंले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

नामिबियाका जेर्हार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्धय डान ड्वाउथवेट र नाथन साउटर विदेशी खेलाडी हुन् । सबै सोमबारको खेलका लागि उपलब्ध छन् । भीम सार्की, रासिद खान र शाहब आलम टोलीका चर्चित घरेलु नाम हुन् । सोमबार दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ । जनकपुर लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०७:१७

लोकप्रिय