सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

यो वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादशैँ, तिहार, छठ लगायत पर्व सकिएसँगै चाडवाड मनाउन घर फर्किएकाहरू पुनः भारत फर्किन थालेका छन् । सुदूरपश्चिमका नाकाहरू यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारका लागि भारत गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्षले जनाएको छ । यहाँबाट एक सातामा नौ हजार १४९ जना नेपाली रोजगारीका लागि भारत गएको तथ्याङ्क छ ।

लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडवाड मनाउन घर आए पनि फेरि फर्कन लागेको बताए । उनले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताए ।

‘हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ,’ सार्कीले भने ।

सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गङ्गा महराले पनि दशैँको टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको बताए । उनले भने, ‘यहाँ रोजगारी पाइँदैन, भारत नगएर सुखै छैन ।’

यसैगरी अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई जान थालेको बताए । नेपालीहरू यसरी कोही छोटो समय त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् । कतिपय खेतीपाती सकी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र बालीनाली भित्र्याउन घर फर्कन्छन् ।

खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउँछन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला शहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताउँछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ०७:०५

लोकप्रिय