सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका आठ एसएसपी डीआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त आठ डीआइजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पाँच जना डीआइजीमा बढुवा भएका हुन् । यसपटक डीआइजी बढुवा भने वरिष्ठताक्रम अनुसार भएको छ । आइजीपी कुँवरको ब्याचका ध्रुवबहादुर राउत, भोलाबहादुर रावल र गणेश चन्दलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबाट सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआइजीमा सिफारिस भएका छन् । उनीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन् । डीआइजीका लागि लविइङ गरिरहेका २०५४ सालका प्रहरी निरीक्षकहरु भने यसपटक छुटेका छन् । यो ब्याचका तीन जना भने यसअघि नै डीआइजीमा बढुवा भइसकेका छन् ।

डीआइजीहरु दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी २०५४ को ब्याचका हुन् । उनीहरु पनि यो टोलीसँगै एसएसपीमा बढुवा भएका थिए । तर डीआइजीमा अगाडी लागेका हुन् । अघिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक उनीहरुलाई प्राथमिकता दिएर बढुवा गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०६:४७

लोकप्रिय