सूचनाको शक्ति - The Power Of Information

        

देशभर घट्दै तापक्रम, बढ्दै जाडो (विवरणसहित)

देशभर दिनप्रतिदिन तापक्रम घट्दै र जाडो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणले देशभर विभिन्न स्थानमा न्यूनतम र अधिकतम दुवै तापक्रम घट्दै गएको देखाएको छ । महाशाखाको तथ्यांक अनुसार आज (आइतबार) सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस छ । त्यहाँको अधिकतम तापक्रम भने १७.६ डिग्री सेल्सियस छ ।

यसपछि आज सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको जोमसोममा माइनस १.० डिग्री सेल्सियस छ । यहाँको अधिकतम तापक्रम भने १२ डिग्री सेल्सियस छ । तेस्रो नम्बरमा सबैभन्दा कम न्यूनतम तापक्रम दोलखाको जिरीमा ४.९ डिग्री सेल्सियस छ । यहाँको अधिकतम तापक्रम भने १७.६ डिग्री सेल्सियस छ ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँका लागि यस वर्षयताकै कम हो । उपत्यकाको अधिकतम भने २०.४ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ । मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ । अहिले नेपालमा पोस्ट मनसुन सिजन छ । यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ । डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ । हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो ।

हेर्नुहोस् देशका अन्य स्थानको तापक्रम :

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १९:१९

लोकप्रिय