सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति रनिङ शिल्डको तयारीमा राप्तीसोनारी गाउँपालिका

१७ औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी बैठकमा सहभागीहरु ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले गर्न लागेको १७ औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढिरहेको छ । आगामी पुस १३ गतेदेखि १५ गतेसम्म शिवशक्ती मावि पेडारीमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारी, व्यवस्थापन र त्यसलाई भव्यता दिने विषयमा विभिन्न पक्षहरुसँग छलफल तथा अन्तरक्रिया भइरहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । गाउँपालिकामा रहेका विद्यालयका प्रअहरु सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पौडेलले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी गराउन निर्देशन दिएका छन् ।

प्रतियोगितामा सम्पूर्ण विद्यालयको सक्रिय सहभागिताको आवश्यकता औँल्याउँदै अध्यक्ष पौडेलले व्यवस्थापनमा भूमिका खेल्न आग्रह गरे । यो पटक थप प्रभावकारी र आकर्षित गर्नका निमित्त विद्यालयस्तरीय लोक नृत्य (एकल) प्रतियोगिता र विज्ञान प्रदर्शनी प्रतियोगिता समेत समावेश गर्न अध्यक्षले सुझाव दिएको शिवशक्ति माविका प्रअ पुरस्कार खड्काले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, दौड (ट्रयाक)तर्फ छात्र १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड, रिले दौड, उफ्रने र फ्याक्ने, हाइजम्म, लङजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट, कराँते, तेकवान्दो लगायतका इभेन्टहरू समावेश हुनेछन् ।

राप्तीसोनारीमा ७२ वटा विद्यालय छन् । आधारभूत तहका विद्यालयलाई वडामै प्रतिस्पर्धा गराइनेछ । त्यहाँबाट छनौट भएका विद्यालयले पुस १३ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा समावेश गरिने पनि प्रअ खड्काले बताए । प्रतियोगितामा माध्यमिक तहका २४ विद्यालयले सहभागिता रहनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १५:०३

लोकप्रिय