आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
उक्त जोखिम न्यूनीकरण गर्न करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने उनले बताए । प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइने लक्ष्य छ । उनले भने, ‘१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् ।’
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार ९०० विद्यालयमा खोप केन्द्र र आठ हजार २०० अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार १६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार ६७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् । उनले भने, ‘यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।’
पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ ।
त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ । नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार १६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।
हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।
राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२–०७३ र २०७३–०७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी)को सहयोगमा अध्ययन स्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०–०८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।
खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१–०८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्यसम्ममा आइपुग्ने बताए । उनका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । ‘अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ,’ उनले भने । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै आइपुग्ने उनको भनाइ छ ।
चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा ९९०–७०–९०० को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं