सूचनाको शक्ति - The Power Of Information

        

पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु

नेपालमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको हो ।

विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा.कृष्णसागर शर्माले बताए ।

शर्माका अनुसार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत छन् । पाठेघरको मुखको क्यान्सर हुँदा शारीरिक सम्बन्ध राख्दा तल्ल पेट दुख्ने, रगत बग्ने, गनाउने पानी बग्ने, सामान्य उपचार गर्दा निको नहुने जस्ता लक्षण देखिने उनले बताए ।

पाठेघरको मुखको क्यान्सर स्टेज १, २ र ३ सम्म निको पार्न सकिने डा.शर्मा बताउँछन् । यो क्यान्सरको चौथो अवस्थामा केही समस्या भए पनि उपचार सम्भव नै रहेको उनले बताए । महिलाहरूलाई सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वास्थ्य जीवनशैली अपनाउन उनले सुझाएका छन् ।

डा.शर्माका अनुसार शारीरिक सम्बन्ध राख्न थालेपछि प्रत्येक दुई वर्षमा पाठेघरको मुखको जाँच गराउनुपर्छ । यसले दश वर्षपछि पाठेघरको मुखको क्यान्सर हुन्छ कि भनेर पत्ता लगाउन सकिन्छ । यहिबेला उपचार गरेमा क्यान्सरको रोकथाम गर्न सकिन्छ । ‘पाठेघर क्यान्सर हुन नदिन एचपीभी भ्याक्सिन छ,’ उनले भने ।

उनका अनुसार यो भ्याक्सिन ११ वर्षदेखि १३ वर्षको उमेरमा लगाउन सकिन्छ । यो खोप सबैलाई पुर्याउन सकेमा १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सरको समस्या नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

मङ्गलवार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ । यो अभियान मार्फत देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार ०८:००

लोकप्रिय