‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको संगीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृंखलाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।
सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरकफरक रुप देखिने रुपातालको रुपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ । पोखरा तालैतालको सहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । फेवाताल, बेगनास ताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रुपाको विशेषता अझ बेग्लै छ ।
‘रुपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,’ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भन्छन्, ‘छिनछिनमा तालले आफ्नो रुप फेर्छ, जसले यो ताललाई ‘रुपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।’ हरियाली पहाड, जंगल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उनको भनाइ छ ।
‘यहाँ डुंगा शयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्व दिन थालेका छन् । योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ,’ कँडेलले भने । उनका अनुसार रुपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेन्ट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रुपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रुपाताललाई नै प्रमुख गन्तव्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् ।
रुपाको सुन्दरताको अवलोकन, डुंगा शयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । योसँगै साइवेरिया लगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब ३५० प्रजातिका चराहरु पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्व बढ्दै गएको उनको भनाइ छ ।
नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रुपाताल अद्भूत लागेको बताए । ‘रुपाताल साँच्चै अद्भूत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो । हामीले डुंगामा यात्रा गर्यौँ, चराचुरुंगी देख्न पायौँ, र प्राकृतिक सौन्दर्यको मजा लियौँ,’ उनीहरुले भने । उनीहरुले स्थानीय बासिन्दाहरूको मैत्रीपूर्ण व्यवहारले पनि बेग्लै खुशी थपिदिएको बताए । उनीहरुले भीडभाडबाट टाढा एकान्त र शान्त रुपातालमा नेपाल आउने सबैलाई यो स्थान घुम्न सिफारिस गर्ने बताए ।
रुपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहेका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आएका जयकुमार वर्माले पनि रुपाताल सुन्दर लागेको बताए । ‘नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रुपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको सहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित गर्यो ।’ पहिलोपल्ट पोखरा घुम्न आएका वर्माले फेवाताल र वेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाए ।
ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभइ स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पुर्याउँदै आएको बताउँछन्, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी । ‘रुपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो,’ अधिकारीले भने, ‘रुपातालको माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ । सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।’ सहकारीमा एक हजार ३८ जना सेयर सदस्य रहेका छन् ।
उनले आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राखे । रुपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रुपातालमा वार्षिक रु एक करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब १०० देखि १५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन १५० केजीमा मात्र सिमित भएको छ । रुपातालमा अहिले ३५ प्रजातिका माछाहरु रहेका छन् ।
माछा प्रतिकेजी समय अनुसार ४०० देखि १५०० रूपैयाँसम्ममा बिक्री हुने गर्दछ । ताजा र स्वस्थ्यकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएको अधिकारीको भनाइ छ । रुपाताल एकीकृत विकास परियोजनाका इन्जिनीयर कृष्ण विश्वकर्माले रुपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत परियोजनामार्फत काम गरिरहेको बताए । ‘रुपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ,’ उनले भने ।
उनले रुपातालको संरक्षण र पूर्वाधारहरू सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पुर्याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताए । परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्रहालय स्थापना गर्ने कार्यहरू भइरहेको छ ।
इन्जिनीयर विश्वकर्माका अनुसार रुपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३–०७४ मा करिब चार अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लाग्ने अनुमानसहित सुरु भएको परियोजना हो । अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदलमार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ ।
पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । आव २०८३–०८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिए । निर्माण कार्यमा हालसम्म दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । यस परियोजनाबाट ७.९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ ।
ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १ हजार ४७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये ९९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको उनको भनाइ छ । विसं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा एकसय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्न पश्चात यसको क्षेत्रफल १८३ पुग्ने बताइएको छ ।
ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् । रुपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पुर्याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ । पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दुरीमा अवस्थित रुपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ । जैविक विविधता र संरक्षणको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुंगे पुल र सुन्दरी डाँडा र पचभैयाजस्ता स्थलहरू पनि अहिले पर्यटकको रोजाइमा परेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
जमुना वर्षा शर्मा । पोखरा