सूचनाको शक्ति - The Power Of Information

        

रविको हिरासत यात्रा, आज पोखराबाट बुटवल लगिँदै, सुरक्षा व्यवस्था कडा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि आज रुपन्देही लगिँदैछ । रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमति अनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । पोखराबाट बुद्ध एयरको विमानबाट आज बिहान रुपन्देही ल्याउन लागिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले बताए । यद्यपि भैरहवाको विमानस्थल बिहानमा नखुल्ने भएका कारण ल्याउन ढिलाइ हुनसक्ने राठौरको भनाइ छ ।

विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ । त्यसपछि जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा लगिने छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा छ ।

जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यस्तै लामिछानेलाई बुटवल ल्याइने भएपछि सरकारले रुपन्देही र आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।

रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर सुरक्षा संवेदनशीलता बढाइएको छ, जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ । लामिछानेलाई पोखराबाट उडानमार्फत ल्याउने तयारी गरिएको भए पनि विमानस्थलमा खराब मौसमका कारण उडान ढिला भइरहेको जनाइएको छ ।

लामिछानेलाई रुपन्देही ल्याउने भएसँगै रास्वपाका समर्थकहरू भैरहवामा प्रदर्शनको तयारीमा जुटेका छन् । रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई बिहान १० बजे भैरहवामा उपस्थित हुन निर्देशन दिएको थियो । लामिछानेको समर्थनमा प्रदर्शनको तयारी भइरहेका बेला सहकारी पीडितहरूले सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको योजना बनाइरहेका छन् ।

यसले दोहोरो प्रदर्शनको सम्भावना बढाएको छ । यही घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षामा थप कडाइ गरिएको हो । विमानस्थलदेखि सरकारी वकिलको कार्यालयसम्म सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रहरी प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिनका लागि सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १०:२५

लोकप्रिय