बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल भएकी छन् । दशरथ चन्द नगरपालिका–५, नौहाट घर भएकी हिमश्वेता बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा पहिलो पटक सहभागी भएकी थिइन् ।
कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गरिरहेकै बेला बागमती प्रदेश लोकसेवा आयोगले दरखास्त आह्वान गरेपछि अनुभवका लागि आवेदन दिएको हिमश्वेताले बताइन् ।
उनले भनिन्, ‘उच्च शिक्षा अध्ययनसँगै लोकसेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिए । पहिलो प्रयासमै लोकसेवा पास भए । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।’ आयोग पास भएपछि उनि मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन् । सरकारले खटाएको कार्यक्षेत्रमा हाजिर हुन उनी शनिबार नै सुदूरपश्चिमबाट मकवानपुर पुगेकी छिन् ।
