आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिनुका साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुन्द्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ । भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ ।
उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।
धनतेरसमा के किन्ने ?
- धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो ।
- गणेश लक्ष्मीको मूर्ति ।
- माटो वा फलामको दीयो ।
- धन यन्त्र ।
- आर्थिक लाभका लागि पानीका भाडा ।
- कारोबार विस्तारका लागि धातुको दियो ।
- सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली ।
- स्वास्थ्य तथा आयुका लागि घन्ट ।
- घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा ।
धनतेरसका दिन यी सामाग्री खरिद गर्दा अशुभ
फलाम – धनतेरसमा फलामबाट बनेका सामग्रीहरु किन्नु हुँदैन । यदि किन्नै परे एक दिन अघि मात्र किन्नु पर्छ । शुभ कार्यका लागि फलाम अशुभ वस्तु मानिन्छ ।
रितो भाँडा – बजारबाट किनेर ल्याएको भाँडा सिधै घरभित्र ल्याउनुहुँदैन । रित्तो भाँडामा पानी वा कुनै सामान भरेर मात्र घरभित्र लैजानुपर्छ । खाली भाँडो अशुभ मानिन्छ ।
स्टील – धनतेरसमा स्टीलका सामग्रीहरु पनि किन्नुहुँदैन । स्टीललाई फलामको दोस्रोरुप लिइने हुँदा धनतेरसमा यसबाट बनेका भाँडाकुडा किन्नुहुँदैन । यसको सट्टा कपर वा काँसका भाँडाकुडा किने लाभ हुन्छ ।
कालो रंगको वस्तु – धनतेरसमा बिर्सेर पनि कालो रङको वस्तु किन्नुहुँदैन । धनतेरसलाई शुभ दिन मानिने भएकाले कालो रङको कपडा वा धातु किन्न राम्रो मानिदैन । कालो रङ दुर्भाग्यको प्रतीक मानिन्छ ।
धारिलो हतियार – यस दिनमा धारिलो हतियार किन्नुहुँदैन । चक्कु, कैंची वा कुनै धारिलो हतियार खरिद गरेमा अशुभ मानिन्छ ।
सवारी साधन – कतिपय व्यक्तिले धनतेरसलाई शुभ दिन मानेर सवारी साधन किन्ने गरेका हुन्छन् । तर धनतेरसमा सवारी किनेमा लाभ हुँदैन । यदि किन्नै परे धनतरेसको अघिल्लो दिन नै रकम भोक्तान गरेर मात्र किन्नुपर्छ ।
नक्कली सुन – धनतेरसमा सुनको विशेष महत्त्व रहेको हुन्छ । त्यसैले धनतेरसमा थोरै भएपनि सुन किन्ने परम्परा रहिआएको छ । यस दिन बिर्सेर पनि नक्कली सुन किन्नुहुँदैन । नक्कली सुनलाई अशुभ मानिने भएकाले धनतेरसमा बिर्सेर पनि नक्कली सुन किन्नुहुँदैन ।
तेल – धनतेरसमा तेल वा घिउ किनेमा राम्रो मानिँदैन । तर यो दिन दीयो बाल्न तेला वा घिउको जरुरत परे पनि अगाडी नै किनिसक्नुपर्छ ।
उपहार – धनतेरसको अघिल्लो दिन उपहार दिनु शुभ मानिन्छ । तर धनतेरसका दिन किनेर उपहार दिनु राम्रो मानिँदैन । धनतेरसका दिन यस्ता कुरामा पैंसा खर्च गर्नु अशुभ मानिन्छ । धनतेरसका दिन आफ्नो घरबाट लक्ष्मीको दोस्रो ठाउँमा पठाउनु अशुभ मानिन्छ ।
