२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

हुम्लाको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथिको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ ।

विसं २०४० मा निर्माण भएको उक्त झोलुंगे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्य चौकीका इन्चार्ज बबरजङ पालले बताए ।

झोलुंगे पुलको दाँयातर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उनको भनाइ छ । पुलको बिच भागमा काठ राखिएको छ । काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन् ।

यस पुलबाट हाल तीन वटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन् ।

झोलुंगे पुल मर्मतसम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार