सूचनाको शक्ति - The Power Of Information

        

मुक्त कमैयाले बल्ल पाए पक्की घर

कञ्चनपुरको वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुरमा मुक्तकमैया बस्ती हो ।

विसं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो । हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ । ‘वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,’ डगौँराले भने, ‘पछि नदी किनारमा तटबन्ध निर्माण भयो । जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो ।’

हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन् मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन् भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।

‘कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,’ स्थानीय जानकी चौधरीले भनिन्, ‘कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अफ्ट्यारो भयो । हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।’ उनका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईबस्तु चराउनेलगायत घरका सबै काम गर्नुपर्थ्यो ।

पुरुषहरुलाई खनजोत गर्ने, दाउरा चिर्ने लगायत कामबाट फुर्सद हुँदैनथ्यो । कमैया मुक्तपछि सागसब्जी खेती गर्न थालेकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । ‘कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ । खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ,’ उनी भन्छिन्, ‘डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।’

कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान, गहुँ खेती गर्छिन् । आफ्नै नौ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडी लगायत सागसब्जी खेती गरेकी छिन् । च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् ।

बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उनले घरखर्च चलाउँदै आएका छन् । ‘अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ,’ मानबहादुर भन्छन्, ‘थोरै सिँचाइको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।’ सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गरेका छन् ।

आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि गए । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका बिक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहेका छन् । ‘९ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ,’ उनले भने, ‘स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।’

स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्छन् । अब्बल मिस्त्री गनिने उनलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न संघसंस्थाले सीपमूलक तालिम दिएका थिए । त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउँछन् । ‘सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे । काम गर्दै जाँदा मिस्त्री भइयो,’ उनले भने, ‘मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।’

स्रोत : रासस
प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ०९:२७

लोकप्रिय