दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उलङ्घन गरेर सवारी साधन जथाभाबी चलाउने कार्य ठुलो सङ्ख्यामा भएको पाइएको छ । प्रहरीले जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका दुई हजार ६७७ वटा सवारी साधनलाई कारबाही गरेको छ ।
ट्राफिक नियम विपरीत चलेका दुई हजार ६७७ वटा सवारी साधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीको सक्रियताकै कारण यतिधेरै सवारी साधनलाई कारबाही गरिएको र सोही कारणले चाडपर्वको बेला दुर्घटना पनि कम भएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले चाडपर्वको अवधिमा भारतबाट अवैध आयात पनि बढ्ने अनुमान गरेर कडाइ गरेपछि प्रहरीले असोज महिनामा ३८ लाख ७८ हजार २०० रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा मोटरसाइकल र चार जना मानिस पक्राउ गरी भन्सारमा पठाइएको बताए ।
