सूचनाको शक्ति - The Power Of Information

        

आगन्तुक सूचना केन्द्र बनाउँदै बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना हुने भएको छ । निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना तथा जानकारी प्रदान गर्नका लागि करिब ७० लाखको लागतमा कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी उत्तमकुमार चौधरीले निकुञ्जमा आउने आन्तरिक र विदेशी पर्यटकलाई निकुञ्ज अवलोकनका लागि सहज होस् भनेर निकुञ्जको पश्चिम सेक्टर कोहलपुरमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढ्ने बताए । सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्ज सम्बन्धी सम्पूर्ण जानकारी सहजै पाउन सकिने निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ४८० जना पर्यटकले भ्रमण गरेको सो निकुञ्जले जनाएको छ । निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्प लगायतका जीवजन्तु अवलोकन गर्न सकिन्छ । निकुञ्जभित्र पर्यटकका लागि हात्ती सफारी, जिप सफारी, जंगल सफारी तथा पैदल यात्राको समेत व्यवस्था गरिएको छ ।

निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको छ । बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटलको सुविधा भएका कारण बाँके निकुञ्जको अवलोकनका लागि यहाँ पुग्ने पर्यटक बाघ लगायतका वन्यजन्तु अवलोकन गरेर रमाउँदै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १०:१५

लोकप्रिय