सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगी प्रकरण

रवि लामिछाने जोडिएको सहकारीमा कति छ अपचलन ?

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । सभापति लामिछानेलाई अनुसन्धानका लागि कास्की पुर्याइएको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै वि.सं.२०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी लगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी लगायत अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गरेको पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकमारी संस्था लि पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानका सिलसिलामा सम्मानित कास्की जिल्ला अदालतबाट आजै पक्राउ अनुमति जारी भएको उल्लेख गर्दै लामिछानेलाई पक्राउ गरी यस कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ०८:३०

लोकप्रिय