सूचनाको शक्ति - The Power Of Information

        

इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी

‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित चार जना पक्राउ परिसकेका छन् । हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइ दिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो ।

पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो । प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । स्रोतका अनुसार शाही हाल फरार छिन् । छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो ।

तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन् । ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन् । व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १५:३८

लोकप्रिय