सूचनाको शक्ति - The Power Of Information

        

सन्तानेश्वर मन्दिर पुगेर पहाडको चुचुरोमा रमाउँदै पर्यटक

बाँकेको नरैनापुर गाउँपालिका–६ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ । केही वर्षअघिसम्म सुनसान रहने गरेको सो मन्दिरमा केही समययता आएर धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ ।

महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न वार्षिक करिब २० देखि ३० हजार नेपाली र भारतीय त्यहाँ पुग्न थालेको नरैनापुर गाउँपालिकाले जनाएको छ । सो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तरपूर्व पहाडको चुचुरोमा अवस्थित छ ।

सन्तान नभएकाहरूले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकाले सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ र सीमापारी भारतका विभिन्न स्थानबाट पर्यटकहरू दर्शनका लागि आउने गरेका छन् । पर्यटकहरू पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किदा उनीहरू त्योभन्दा बढी हर्षित र खुसी देखिने गरेका छन् ।

चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य अवलोकन गर्न पाउनु सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ । मन्दिरको दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँका भक्तजन ठुलो सङ्ख्यामा आउन थालेको नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

उनका अनुसार नरैनापुर कोहलाबाट दुई घण्टाको हिँडाइपछि सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नुपर्छ । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा भारतीय पर्यटकहरू उत्साहित हुने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए । उनका अनुसार मन्दिरसम्म पुग्न सडक विस्तार भएसँगै पर्यटकको आकर्षण पनि बढ्दै गएको हो ।

यसलाई पर्यटकीय हब बनाउन पालिकाले विकासका केही योजना तयार पारेको जनाउँदै अध्यक्ष शाहले जतिसक्दो बढीभन्दा बढी पर्यटक आकर्षित गराउने उद्देश्य रहेको बताए । स्थानीयका अनुसार सडक नहुँदा मन्दिरसम्म पुग्न समस्या थियो । अहिले सडक बनेपछि पर्यटकहरु ठुलो सङ्ख्यामा आउन थालेको उनीहरुको भनाइ छ । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १५:३४

लोकप्रिय