सूचनाको शक्ति - The Power Of Information

        

इन्स्पेक्टर छँदै नराम्ररी डुबे ‘आइजीपी’ बन्ने लाइनका प्रहरी अधिकृतहरू

नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुँदा भविष्यको संगठन प्रमुखको सपना हुन्छ । इन्स्पेक्टरमा भर्ना भएकाहरुमध्येबाटै भविष्यको आइजीपी, एआइजीपी र डिआइजीपीमा पुगेर अवकाश हुन्छ । प्रहरीको यो तह भनेको नीति निर्माण र सबल संगठनको नेतृत्व गर्ने तह हो । अहिलेको अवस्था हेर्ने हो भने आइजीपीले सिंगो संगठनको र एआइजीले प्रहरी प्रधान कार्यालयको विभिन्न विभाग तथा डिआइजीले प्रदेश तहको प्रमुख लगायत तालिम केन्द्र केही महत्वपूर्ण कमाण्डहरु सम्हालेका छन् ।

प्रहरी ऐनमा आउने र हुने व्यवस्था पनि यही तहको हुन्छ । तर प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमै रहेका युवा र आशालाग्दा अधिकृतहरु यति धेरै भ्रष्ट हुन थाले कि उनीहरुले सायद पैसा कमाउने समय नै यही हो भन्ने सोचिरहे । त्यसकै परिणाम काठमाडौं उपत्यकामा रहेका दुई इन्स्पेक्टर आर्थिक लेनदेनमा निलम्बनमा परेका छन् । काठमाडौं परिसरमा कार्यरत रहेका प्रतिक सिंह र विनु शाही रहेका छन् ।

दुवै जना नेपाल प्रहरीका आशालाग्दा अधिकृत थिए । तर उनीहरु दुवैले काठमाडौं आएपछि ठूलो रकम बार्गेनिङ गर्ने र आफ्नो भविष्यलाई दाउमा राखेपछि प्रहरी संगठनले कारवाहीको प्रकृया अघि बढाएको छ । दुवैलाई निलम्बनको सिफारिस गरिएको छ । उपत्यका प्रहरी कार्यालयले दुवैलाई निलम्बन गर्न सिफारिस गरेको हो । सिंहले क्रिप्टो करेन्सीको ५० लाख मिलाई दिन्छु भनेर आर्थिक लाभ लिएको अरोप छ भने विनुले हनी ट्यापरसँग मिलेर बलात्कार मुद्दा लगाइदिने धम्की दिई ३० लाख लिएको आरोप छ ।

के थियो ५० लाख काण्ड ?

क्रिप्टो कारोबारमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत १४ भदौमा आशीष आचार्यलाई काठमाडौको मनमैजुबाट पक्राउ गरेको थियो । पछि क्यानडामा क्रिप्टो कारोबार गरेको भन्दै नेपालको कानुन आकर्षित नहुने भनेर दुई दिनपछि रकम असुल गरेर छाडियो । यसबिचमा उनका परिवारसँग बार्गेनिङ गरेर बिचौलियामार्फत ५० लाख रुपैयाँ असुलिएको थियो ।

यो घटनामा दुई प्रहरीको मिलेमतो र एक प्रहरीको लापरबाही रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले गरेको छानबिनले जनाएको छ । एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले इन्सपेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईमाथि कारबाही गर्न सिफारिस भएको छ । इन्सपेक्टर सिंहको लापरबाही देखिएकाले उनलाई सचेत गराउन केही समय निलम्बन गर्ने र अन्य दुईको मिलेमतो रहेको भन्दै ठगी कसुरमा मुद्दा चलाउन सिफारिस भएको हो ।

पैसा असुल्ने पूर्वयोजना अनुसार नै पक्राउ गरिएको छानबिनले औँल्याएको छ । १४ भदौमा हवल्दार खड्का बिदामा थिए । तर, क्रिप्टो कारोबार गर्नेको सूचना आएको भन्दै उनी कार्यालय गएर आशीष आचार्य र तेजबहादुर तामाङलाई पक्राउ गरी परिसर लगेका थिए । तामाङलाई भोलिपल्टै छाडियो भने आचार्यलाई थप अनुसन्धानका लागि भन्दै राखिएको थियो । दुई दिन थुनामा राखेर उनलाई आइतबार साँझ छाडिएको थियो । त्यसबीचमा आचार्यका परिवारले तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएका थिए ।

प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो । पैसा लेनदेन भएकै दिनमा आचार्य छुटेका थिए । तर, प्रहरी निरीक्षक प्रतीक सिंहले ‘गुडफेथ’ मा छाडिएको बताएका थिए । आचार्यकी दिदीले ५० लाख बुझाएर छुटेको बताएपछि इन्सपेक्टर सिंहले माथिल्लो तहमा जानकारी गराएका थिए । त्यसपछि छानबिन सुरु भएको थियो । छानबिनको क्रममा ५० लाख लेनदेन भएको पुष्टि भएको थियो । त्रिचन्द्र कलेजको शौचालयमा पैसा लेनदेन भएको प्रहरीको दावी छ । ५० लाखमध्ये तामाङले ३५ लाख आफ्नो कृषि विकास बैंकमा रहेको खातामा जम्मा गरेका थिए । बाँकी १५ लाख कसले लियो खुल्न सकेको छैन ।

के हो ३० लाख प्रकरण

सुनसरी, इटहरीका एक जग्गा व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै असोज ७ गते विनु नेतृत्वको प्रहरी हिरासतमा राखेर ३० लाख असुल गरी छाडिएको थियो । हनी ट्रयापिङमा संलग्न समूहले प्रहरीसमेतको मिलेमतोमा यस्तो आपराधिक गतिविधि भएपछि अहिले विनुलाई निलम्बनको सिफारिस भएको छ । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटी (बुङमती)मा मोरङ घर भएका तर सुनसरीको इटहरीमा जग्गाको काम गर्ने एक व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो ।

केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाएकी थिइन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लगेको थियो । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु भएको थियो । अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ मागेकी थिइन् । पछि ३० लाख रुपैयाँमा सहमति भएको थियो । ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएका थिए । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि थियो ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेका थिए । घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुईजनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको थियो । युवतीले लिएको चेकसमेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ । छानबिनमा प्रभागकी इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएको छ । सुरुमा शान्ति सुरक्षा सम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १६:०४

लोकप्रिय