सूचनाको शक्ति - The Power Of Information

        

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसैंमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो । दसैंमा पहिलो पटक सिमकोट बजार यतिधेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् ।

सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैं मनाउन घर गएका छन् । दसैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए ।

सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए । छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैंभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैंले नछोएको रोकायाको भनाइ छ ।

‘अहिले खेतमा पाकेको फल (तुल) घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने ?’ उनले भने । अष्टमीको दिन दसैं मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ का बदुम बोहराले बताए । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार ०९:३४

लोकप्रिय