सूचनाको शक्ति - The Power Of Information

        

खाजा दिन थालेपछि स्कुल आउन थाले केटाकेटी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्याय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो । आर्थिकरुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन् ।

दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहोर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो,’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’

नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी रु १५ का दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । ‘कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौं,’ उनले भने, ‘त्यसै अनुरुप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’

विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई आइतबा खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफुल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए ।

खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलव रु सात हजार व्यहोरिदै आएको छ । योसँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेरेटर (फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ ।

दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए ।

‘खाजा खुवाउदा विद्यार्थीलाई बस्नका लागि असहज हुदै आएकाले आगामी वर्ष आवश्यक बेन्चहरु निर्माण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘बेन्चका लागि आवश्यक पर्ने काठका लागि सामुदायिक वन र निर्माण गर्दा लाग्ने खर्चका लागि वडा कार्यालयलाई गुहार्छौ ।’ विसं २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी रु १५ का दरले उपलव्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नुपर्ने विद्यालयका शिक्षकहरुले जनाएका छन् ।

विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । ‘विद्यालर्थीलाई पोषणयुक्त खाजाको व्यवस्थापनको कार्य गर्नु चुनौतिपूर्ण रहेपनि विद्यालयले गरेर देखाएको छ,’ उनले भने, ‘व्यवस्थापन गरे जस्तो सुकै चुनौती भएपनि कार्य गर्न सकिदो रहेछ भन्ने उदाहरण यस विद्यालयको दिन सकिन्छ ।’

विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । ‘अनुगमन संयन्त्रले विद्यालयमा दिवा खाजाको अबस्था, ‘मेनु’ अनुसार खाजा खुवाए नखुवाएको, भान्सा सरसफाइको अबस्था लगायत बारे जानकारी लिने छ,’ उनले भने, ‘मापदण्ड विपरित खाजा खुवाइएको पाइए सम्बन्धित विद्यालयलाई सचेत गर्ने र सचेत गर्दा समेत नटेरेमा नियम अनुसार कारवाही हुनेछ ।’

दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ का दरले वर्षमा जम्मा १८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ । दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनुपर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा १५० देखि २०० ग्रामसम्म उपलव्ध गराउनुपर्ने प्रावधान रहेको छ । नगरपालिकामा ६५ बाल विकास केन्दमा दुई हजार ५१८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार ५२० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार ०९:२९

लोकप्रिय