२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज २७ गते आइतबार

देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । मनसुनी वायु शनिबार (हिजो)देखि नेपालबाट बाहिरिइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य छ ।

‘कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अंशिक प्रभाव परेको छ । साथै, स्थानीय वायुको पनि अंशिक प्रभाव रहेको छ,’ आइतबार बिहान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । बिहानीपख कोसी, मधेस र वाग्मती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति लुम्बिनीसहित कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतबार