आज २०८१ असोज १८ गते शुक्रवार, ४ अक्टोबर २०२४ । आश्विन शुक्लपक्ष, द्वितीया तिथि । चित्रा नक्षत्र, १७ः५५ बजेपछि स्वाती । चन्द्रराशि तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै हुनाले उपभोग्य सामग्री खरिद गर्न सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चिलो काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । सानातिना काममै अलमल हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । यात्रा अलि असहज हुन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूका काममा धेरै समय खर्चनुपर्ला । आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । लेनदेनको विवरण नराख्दा हिसाबकिताब बिग्रन सक्छ । केही काममा जुट्नैपर्ने बाध्यता रहनेछ । समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ । शुभचिन्तकहरूको सहयोगले फाइदा उठाउन सकिनेछ ।
