सूचनाको शक्ति - The Power Of Information

        

भन्सारजन्य निर्यातको एक तिहाइ विद्युत् निर्यात

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८१–०८२ को साउनमा नेपालले विभिन्न ५०९ प्रकारका वस्तु निर्यात गरेर १२ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको देखाउँछ तर ५०९ को श्रेणीमा नपर्ने विद्युत् भने साउनमा चार अर्ब १९ करोड रुपैयाँको निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस अनुसार भन्सारजन्य निर्यातको तुलनामा एक तिहाइभन्दा बढी पुग्छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । यस अनुसार साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक आठ–नौ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनामा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक १३ करोड रुपियाँभन्दा बढीको निर्यात गर्ने अवस्थामा आइपुगेको बताए ।

कार्यकारी निर्देशक घिसिङले निर्यातमा यस्तो प्रगति भइरहँदा आन्तरिक खपत विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले भने, ‘हाम्रो पहिलो प्राथमिकतामा रहेको देशभित्रको विद्युत् खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।’

घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबिचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

केही दिनअघि द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रूपमा ७०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ०७:१५

लोकप्रिय