सूचनाको शक्ति - The Power Of Information

        

सम्झौताअघि नै निर्माण भयो डुडुवा खोलाको पुल

हुलाकी राजमार्ग अन्तरगत बाँकेको डुडुवा गाउँपालिका–४ कम्दी मिलनचोकस्थित डुडुवा खोलामा तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै पुल निर्माण सम्पन्न भएको छ । सम्झौतामा उल्लेख भएको भन्दा पनि कम रकममा पुल निर्माण भएको छ ।

बाँकेको किरणनाला लगायतका खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भइरहँदा डुडुवा खोलाको पुल भने समयभन्दा पहिले नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिए ।

उनले आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगन्जले असारभित्र सम्पन्न गरेको बताए । पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्ने गरी २०७९ असार ५ गते सम्झौता भएको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । १० करोड ७१ लाख रुपैयाँमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि १० करोड ४३ लाख रुपैयाँमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताए ।

योजना निर्देशक भण्डारीले भने, ‘प्राविधिक, कर्मचारी र निर्माण ब्यवसायीको सहकार्य र समन्वयमा निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न सफल भएका छौं ।’ हुलाकी सडक अन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो ।

नयाँ पुल दुबैतर्फ १.७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । २ स्पान रहेको पुल ६६ मिटर लामो रहेको छ । स्थानीय जमिल खाँले राप्ती नदीमा बर्षौसम्म ढिला गरी पुल निर्माण भएको देखेका आफुहरु डुडुवा खोलाको कामबाट खुशी भएको बताए ।

उनले पुल निर्माण भएपछि डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगन्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने हजारौंलाई सहजता भएको जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार ११:२४

लोकप्रिय