सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज-गुलरिया सडकको पेडारी नालामा कहिले बन्ला पक्की पुल ?

बाँकेको खजुरास्थित पेडारी नाला पुल । 

नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले कल्भर्ट निर्माणका लागि नक्सा र डिजाइन बनाई स्वीकृतिका लागि सडक विभागमा पेश गरेको ६ महिना पुगे पनि अहिलेसम्म ठेक्का आह्वान हुन सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले विभागबाट स्वीकृत भई कार्यालयलाई ठेक्का आव्हान गर्न स्वीकृति दिएमा एक वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने बताए । प्रमुख भण्डारीले भने, ‘सो स्थानमा चारलेन सडक भएकाले छिटो भन्दा छिटो काम सुरु गरी सम्पन्न गर्न कार्यालय तयारी अवस्थामा छ, तर विभागबाट स्वीकृत हुनुपर्ने हुन्छ ।’

खजुरामा ६ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ । बाढीको समयमा पुलको दायाँबायाँ पानी जमेर आवागमन पटक–पटक अवरुद्ध हुने गरेको छ । पेडारी नालामा नयाँ कल्भर्ट २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । चार लेन सडक भएकाले ११ मिटर चौडाइ र ३३ मिटर लम्बाइका दुई वटा कल्भर्ट निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ ।

कल्भर्ट भए पनि चारलेनको मापदण्ड अनुसारका हुने र छिटो सम्पन्न हुने भएकाले कल्भर्ट निर्माण गर्न लागिएको प्रमुख भण्डारीले बताए । करिब १४ करोड रुपैयाँको लागतमा नयाँ आरसिसी कल्भर्ट हालको पुल भन्दा उचाइमा निर्माण गरिने कार्यालयले योजना बनाएको छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगन्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बग्ने गरेको बताए । पालिकाले पटक–पटक पहलकदमी गरे पनि हालसम्म पुल निर्माणको काम अघि बढ्न नसकेको उनले बताए । वर्षातको समयमा बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशका हजारौं बासिन्दाले दुःख पाउने भएकाले सङ्घ सरकारलाई तत्काल पुलको काम अघि बढाउन अध्यक्ष विकले माग गरे ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १६:२६

लोकप्रिय