सूचनाको शक्ति - The Power Of Information

        

मुलुकभर ३४ हजार २६७ किलोमिटर सडक विस्तार

मुलुकभर हालसम्म ३४ हजार २६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय अन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो ।

विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०–०८१ को फागुन मसान्तसम्म १८ हजार २४१ किलोमिटर कालोपत्र, सात हजार ६९७ किलोमिटर ग्राभेल र आठ हजार ३२९ किलोमिटर कच्ची सडक विस्तार भएको जानकारी दिए ।

गत आवमा सडक निर्माणका लागि करिब रु एक खर्ब सात अर्ब २६ बजेट विनियोजन (संशोधन सहितका) भएकामा कूल खर्च ६९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । जसमध्ये ८५ दशमलव ४० प्रतिशत चालुतर्फ, ६९ दशमलव १७ प्रतिशत पुँजीगततर्फ खर्च भएको सडक विभागको तथ्याङ्क छ ।

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना अन्तर्गत एक हजार ४५२ किलोमिटर सडक र १०५ पुल निर्माण सम्पन्न भएको छ । यस आयोजनाको भौतिक प्रगति ७६ दशमलव ९५ र वित्तीय प्रगति ८० दशमलव ८२ प्रतिशत भएको विभागले जनाएको छ ।

हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ६६ दशमलव ११, वित्तीय प्रगति ६१ दशमलव ९९ प्रतिशत र कोशी करिडोरमा दुई किमी सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ । कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड (२४५ किमी) अन्तर्गत १९० किमी र मालढुङ्गा–बेनी–जोमसोम खण्ड (२०२ किमी) अन्तर्गत ५१ किमी कालोपत्र सडक निर्माण भएको छ ।

यसैगरी, कर्णाली करिडोर अन्तर्गत (२६९ किमी) हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्याङ्कमा उल्लेख छ । पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास निजगढमा ६५ किमी ‘ट्र्याकबेड’ र १३ वटा रेलवे पुलको निर्माण भएको छ । जसको भौतिक प्रगति ४५ दशमलव चार, वित्तीय प्रगति ४५ दशमलव ३३ प्रतिशत भएको विभागका महानिर्देशक पोखरेलले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०६:१९

लोकप्रिय