सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीको हेडवर्क्स निर्माण गर्न एडिबीको १८ मिलियन अनुदान

मेलम्ची खानेपानी आयोजनाको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी) ले एक करोड ८० लाख (१८ मिलियन) अमेरिकन डलर अनुदान दिने भएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ‘हेडवर्क्स’ पुरिइसकेकाले नयाँ ‘हेडवर्क्स’ निर्माण तथा मुहानस्थल सार्नका लागि एसियाली विकास बैङ्कले आयोजनालाई १८ मिलियन अमेरिकन डलर अनुदान दिने जानकारी दिए ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै सिन्धुपाल्चोकको सर्कस्थली भन्ने ठाउँमा नयाँ मुहान स्थलको निर्माण सुनिश्चित भएको छ । सरकारले सहमति दिएसँगै आयोजनाले ‘हेडवर्क्स’ निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।

आायोजनाका इन्जिनियर पद्म कुँवरले भने, ‘एसियाली विकास बैङ्कले नयाँ मुहान स्थल निर्माणका लागि मेलम्ची खानेपानी आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । सरकारले निर्णयसँगै नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्छ । भौगर्भिक अध्ययन (डिपिआर) प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ ।’

कम्पनी छनोट भइसकेपछि हेडवर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने उनको भनाइ छ । नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डिपिआर निर्माणपछि मात्र स्पष्ट हुने उनले बताए । उनले भने, ‘हेडवर्क्स निर्माण गरेर मात्र हुँदैन । नयाँ हेडवर्क्स निर्माण हुने स्थानबाट अहिलेको हेडवक्र्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङमार्ग निर्माण गर्नु पर्छ । त्यसैगरी नयाँ हेडवर्क्ससम्म पुग्न पहुँचमार्ग, हेडवर्क्स क्षेत्रमा अन्य संरचनामा समेत निर्माण गर्नुपर्छ ।’

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ०९:१८

लोकप्रिय