बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका २२ सहकारी ‘कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन नगरेकाले सहकारीलाई खारेजीका लागि पक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाको सहकारी ऐन, २०७४ अनुसार सञ्चालनमा नरहेका, झोलामा मात्र सीमित रहेका र पटक पटक सूचना निकाल्दा पनि सम्पर्क नगरेर अटेरी गर्ने सहकारीको खारेजी पक्रिया सुरु गरिएको बताउनुभयो ।
उहाँले मनोमानी तरिकाले चल्ने जतिबेला इच्छा लाग्यो उतिबेला जनताको रकम लिएर बेपत्ता हुनेजस्ता सेवामूलकभन्दा व्यवसायीमूलक सहकारी खारेजीको विकल्प नरहेको बताउनुभयो ।
कोहलपुर नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाका प्रमुख अग्नि आचार्यले पटक–पटक सूचना निकाल्दा पनि नगरपालिकाको सम्पर्कमा आएको नदेखिएको, नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेस गरेको नपाइएको, सहकारी चालु अवस्थामा रहे नरहेको समेत यकिन नभएको हुँदा सहकारीको खारेजी पक्रिया अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ती २२ वटा सहकारीलाई अन्तिम पटकका लागि १५ दिने सूचना प्रकाशन गरिसकेका छौँ, सो समयभित्र नआएको खण्डमा खारेजी गर्नेछौँ ।’ नगर क्षेत्रभित्रका कतिपय सहकारीले आफ्नो क्षेत्रभन्दा बाहिर कारोबार गरिरहेको र सोको आधार समेत पेस नगरेका सहकारीलाई समेत कारबाहीको पक्रिया अगाडि बढाइने उपशाखा प्रमुख आचार्यले बताउनुभयो ।
खारेजी प्रक्रियामा परेका कोहलपुरका सहकारीमा प्रयत्न बहुउद्देश्यीय सहकारी संस्था, कनका सुन्दरी बहुउद्देश्यीय सहकारी संस्था, सृष्टि बहुउद्देश्यीय सहकारी संस्था, सफल पशुपन्छी सहकारी संस्था, विकासशील बहुउद्देश्यीय सहकारी संस्था, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था, हौसला कृषि सहकारी संस्था, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था, वृत्तिविकास कृषि सहकारी संस्था, बिहानी बहुउद्देश्यीय सहकारी संस्था, ध्रुवतारा कृषि सहकारी संस्था छन् ।
सोही प्रकारले जय ठाकुरबाबा कृषि सहकारी संस्था, फूलबारी महिला प्राङ्गारिक सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, खानेपानी मिस्त्री उपभोक्ता सहकारी संस्था, सयपत्री कृषि सहकारी संस्था, जनक शिक्षा कृषि सहकारी संस्था, मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था, जुनी कृषि सहकारी संस्था, सागर कृषि सहकारी संस्था, फूलबारी कृषि सहकारी संस्था र कृषक मिलन कृषि सहकारी संस्था खोजीको प्रक्रियामा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके