२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

जसले एकल बनेकी बुहारी अन्माए…

सत्यपाटीसत्यपाटी । गुल्मी । २०८० चैत ५ गते सोमबार

गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको अर्को बिहे गराइदिएको छ । गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्युपछि उनकी पत्नी (बुहारी) धना न्यौपानेलाई अन्माएर पठाएको हो । लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो ।

‘छोराबुहारी बुटवलमा इलेक्ट्रोनिक्स पसल चलाउँथे । छोरोले इलेक्ट्रिसियन पढेको थियो,’ लक्ष्मीधरले भने, ‘त्यहीबेला छोरा दुःखद् घटना भयो ।’ उनीहरूका सन्तान भने भएका थिएनन् । २४ वर्षकै उमेरमा एकल बनेकी बुहारी धनाको मर्म बुझेर उनले मन पराएको अमृत पौडेलसँग चैत ३ गते बिहे गराइदिएको लक्ष्मीधरले बताए । निधनको समयमा ध्रुव २७ वर्षका थिए ।

निधनको तीन वर्षअघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो । लक्ष्मीधरले छोराको मृत्युको ३ वर्षपछि बुहारीलाई सोधेका थिए, ‘छोरा भएर बस्छौ कि कोइ मनमा छ ?’ जवाफमा बुहारीले भनिन्, ‘आफूलाई एक जना मान्छे मन परेको र घरपरिवार राजी भए विवाह गर्ने मनसायमा रहेको सुनाइन् ।’ त्यसपछि लक्ष्मीधरले सबै कुराको चाँजोपाँजो मिलाएर हिन्दु परम्परा अनुसार अन्माएर पठाइदिएका हुन् ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार