२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

९८ प्रतिशत घर परिवारको भान्सामा आयोनुन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० चैत ३ गते शनिबार

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको वीरगन्ज कार्यालयका अनुसार दुई वर्षयता चार जिल्लाका ९८ प्रतिशत घरपरिवारको भान्सामा आयोनुन हुँदै आएको छ । कार्यालय प्रमुख अमोज लामिछाने पाँच वर्षयताको आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा सचेतना अभियानको परिणाम स्वरुप अधिकांश घरधुरीको पहुँचमा आयोडिनयुक्त नुन पुगेको बताए ।

आव २०७९–०८० मा १२ हजार ८५६ टन र चालु आवको आठ महिनाको अवधिको खपत हेर्दा यस वर्षको अन्त्यसम्ममा १२ हजार ९०० टन आयोनुन खपत हुनेछ । बिगतमा सीमावर्ती नेपाली गाउँ तथा बजारहरुमा भारतीय नुनकै बर्चश्व रहेकोमा पछिल्लो केही वर्षयता नेपाली नुनले भारतीय नुनलाई विस्थापित गर्दै गएको र २–३ वर्षभित्र शतप्रतिशत नेपाली भान्सामा नेपाली नुन नै प्रयोग हुने लामिछाने दाबी गर्छन् ।

‘यो हाम्रो निरन्तरको प्रवर्द्धन तथा सचेतना अभियानकै नतिजा हो,’ उनले भने, ‘बिस्तारै भारतीय नुन बिस्थापित भइ नेपाली आयोडिनयुक्त नुन घरघरमा पुगेको छ ।’ उनले नेपाल सरकारले सन् २०२२ मा गरेको एनडिएएस सर्भेले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने पाँच वर्षमुनिका बालबालिकाको संख्या पनि करिब ९८ प्रतिशत पुगेको छ । कार्यालयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८–०७९ मा मधेश प्रदेशका चार जिल्लामा १२ हजार ७६४ टन आयोनुन खपत भएको थियो ।

गलगांड (कण्ठरोग) नियन्त्रण गर्न, मानसिक र बौद्धिक क्षमताको विकास लागि, लाटो लठेब्रोपन नियन्त्रण गर्न, पुनरुत्पादन क्षमताको वृद्धी गर्न र बाल मृत्युदर घटाउन आयोडिनयुक्त नुन प्रयोग गर्नु आवश्यक रहेको उनले बताए । नेपालको भौगोलिक बनौटका कारण माटो पानीमा आयोडिन नपाउने हुदा नूनमा आयोडिन मिसाएर बिक्री बितरण गर्ने गरिएको उनले बताए । आयोडिनको कमी भएर शारीरिक वा मानसिक रुपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।

कुनै पनि व्यक्तिले गर्भावस्थादेखि उमेरको अन्तिम क्षणसम्म एक सानो चिया चम्चा बराबर मात्र आयोडिन खानुपर्ने हुन्छ । तर उक्त आयोडिन एकैदिन नखाई प्रत्येक दिन थोरैथोरै जीवनभर खानुपर्ने हुन्छ । मानिस लगायत पशुपन्छी सबैलाई आयोडिन आवश्यक हुने उनले बताए । बिशेषगरी गर्भवति महिलाले दैनिक रुपमा आयोडिनको सही मात्रामा प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । बालबालिकाको दिमागको ८० प्रतिशत वृद्धी गर्भावस्थाको १२ सातादेखि दुई वर्षभित्र हुने हुँदा आयोडिनको कमीले शारीरिक र मानसिक विकासमा क्षति तथा गडबडी ल्याउँछ ।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार