२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २ गते शुक्रबार

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । 

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ ।

 यस्तै रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ । 

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार