नेपालगन्ज उप-महानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत अनुगमन थालेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन थालेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गर्न सुरु गरेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनु भयो ।
सहकारी शाखाले अनुगमन गर्नुअघि यसै आर्थिक वर्षमा वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गर्नुका साथै स्कुले विद्यार्थीलाई सहकारी पनि पढाएको छ ।
मंगलबार अनुगमन गरिएको न्युरोड बौद्ध गुम्बा नजिकैको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ । धेरै कैफियत भेटिएपछि कृष्णसारलाई सफाईको मौका दिइएको छ ।
शाखा प्रमुख रानाका अनुसार कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख) र (ग) को कैफियतमा ३ लाख सम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाई पेश गर्न निर्देशन दिइएको छ । सफाई दिन नसके कारबाही गरिनेछ । निरीक्षणका क्रममा देखिएका कैफियतहरु सुधार गर्न २५ दिन समय दिइएको रानाले बताउनु भयो ।
सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित तीन सदस्यीय अनुगमन टोलीले अनुगमनका क्रममा थुप्रै कैफियत भेटाएको हो ।
दुई वर्षदेखि चारखाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धिकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेको लगायतका कैफियत भेटिएको छ ।
सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन दुई वर्षदेखि सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नु भयो । उहाँले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब एक्सन मै उत्रेको बताउनु भयो । गत वर्ष पनि अनुगमन गरिएकोमा कैफियत सच्याउन सचेत बनाइएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके