२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

फागुन ५ गतेदेखि नेपालगञ्ज–जनकपुर सिधा उडान

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २ गते बुधबार

 जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु हुन थालेको छ ।

फागुन ५ गते र ७ गते लुम्बिनी प्रदेशको नेपालगञ्जबाट मधेश प्रदेशको जनकपुरसम्म यति एअरलाइन्सले सिधा हवाई उडानको शुरुवात गर्न लागेको हो ।

केही दिनपहिले मात्र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको यस क्षेत्रका पर्यटन व्यवसायीको बैठकले नेपालगञ्ज–जनकपुर उडानका लागि हवाई कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेर अनुरोध गरेपछि यति एअरलाइन्सले सो उडान शुरु गर्न थालेको हो ।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेश प्रदेशको संयोजनमा यति एयरलाइन्सले चार्टर उडान गर्ने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलिप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा धार्मिक पर्यटन विकासका लागि यही फागुन ५ गते शनिबार र ७ गते सोमबार नेपालगञ्जदेखि जनकपुरका लागि दुई वटा चार्टर उडान गरिने बताए ।

उनले अहिले यी दुईवटा उडान गरेर यात्रुको अवस्था बुझ्ने काम गरिने जनाउँदै यात्रुको माग र संख्या राम्रो देखियो भने यो उडानलाई नियमित गराउने कार्य गरिने बताए ।

यसअघि केही वर्ष पहिले नेपालगञ्ज–पोखरा उडान शुरु गर्नका लागि पनि शुरुमा चार्टर उडान गरिएको थियो । पछि यात्रुको संख्या बढेपछि नियमित उडान शुरु गरिएकोमा अझै पनि बुद्ध एयरले उडान गर्दै आएको पर्यटन पवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार