सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।

गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन् । सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मत सम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ ।

‘गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन् । कुँवा, धारो र पँधेरा देखिन छोडेका छन्,’ खबराका यामबहादुर घिमिरे भने, ‘वनजङ्गल पनि उराठलाग्दो बनेका छन् । मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ । घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठलाग्दो छ ।’

गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताए । ‘डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दुःख बिर्साउदथ्यो,’ उनले भने, ‘बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौतरीसँग दुःखसुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?’

गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउनुहुन्छ, मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक । ‘बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपुर्याइदिन्छ । बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो,’ विक भने ‘तर, वर्षामा भने न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिबास लगाउने डर हुन्छ ।’

वातावरणीय मूल्याङ्कन नगरिकन जथाभावी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा भएका गाउँ थप जोखिममा परेका छन् । ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने वाध्यता छ ।

‘सडक खन्दा घुमाउरो (नागबेली) पारेर खन्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्,’ धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल भने, ‘गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।’

सडकले गोरेटो बाटो मासेपछि वस्ती पनि टाढा टाढाजस्ता भएका छन् । पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उनको भनाइ छ । सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौँ सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गरे ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १७:३५

लोकप्रिय