सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा खानेपानी आयोजना अधुरो

बाँकेको खजुरा गाउँपालिका १ मा राधापुर खानेपानी आयोजनाको सुरुवात भएको १८ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । करिब चार करोड रुपियाँको लागतमा खानेपानी ट्याङ्की र केही स्थानमा पाइपलाइन विस्तार भएको भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा विद्युत् महसुल मात्रै ६ लाख रुपियाँ बक्यौता रहेको वडाध्यक्ष मनवीर क्षेत्रीले जानकारी दिनुभयो।

वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,‘ विगतमा पानी परीक्षण भई केही धारामा खानेपानी वितरण भए पनि पछि सञ्चालनमा आउन नसक्दा पाइपलाइन कतिपय स्थानमा बिग्रेको अवस्थामा छ । ’

स्थानीय बासिन्दाका अनुसार सुरुवातमा खानेपानी परीक्षण गर्ने क्रममा विद्युत् महसुल एकलाख ५० हजार रुपियाँ पुगेर लाइन काटिएपछि आयोजना सञ्चालनमा कठिनाइ भएको हो । कतिपय स्थानमा बिच्छाइएको पाइपलाइनमा समेत क्षति पुगेको छ । खानेपानी आयोजना सञ्चालमा नआउँदा करिब नौ सय घरधुरी स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित छन् ।

यस वर्ष आयोजना सञ्चालनका लागि ६० लाख बजेट लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको छ । जसबाट खानेपानी पाइपलाइन मर्मत तथा विस्तार गरी आयोजना सञ्चालन गर्न सकिने साविक राधापुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष मगनसिंह थापाले जानकारी दिनुभयो ।

न्याउली डाँडामा आर्सेनिक देखिएका कारण पहिलो चरणमा बहादुरपुर हुँदै न्याउली डाँडासम्म पाइपलाइन विस्तार गरिने भएको छ । राधापुर भारतीय सीमासँग जोडिएको पूर्व सैनिकलाई लक्षित गरी राखिएको बस्ती हो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ०९:३६

लोकप्रिय