नेपाली अधिकारीहरूले चियाको प्रमुख आयातकर्तामध्येको देश पाकिस्तानमा नेपाली चिया निर्यात सुरु गरिएको बताएका छन् । इस्लामावादस्थित नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी चिया व्यवसायीहरूले नेपाली चियाको माग गरेको र नेपालबाट चिया निर्यातका लागि पहल भइरहेको जानकारी दिए ।
‘यहाँका व्यापारीहरूको संस्था ‘टी असोसिएसन’ भन्ने छ । त्यसका पदाधिकारीहरूसँग पटक–पटक छलफल गरेर यहाँको कुरा नेपालका उत्पादकहरूसँग आदानप्रदान गरिसकेपछि दुवैतर्फ एउटा समझदारी भएको छ,’ उनले भने । उनका अनुसार नेपालबाट नियमित चिया आयात गर्न पाकिस्तानका व्यवसायीहरू तयार देखिएका छन् ।
पाकिस्तानले वर्षमा १७ करोड किलोग्राम चिया खपत गर्ने गरेको बताइन्छ । जसमध्ये अधिकांश चिया केन्या, युगान्डा लगायतका अफ्रिकी देशहरूबाट आयात हुन्छ । ‘यहाँ ठूलो मात्रामा चिया केन्या र युगान्डाको मात्रै छ । नेपालको चिया अलि फरक स्वादको हुने भएकाले त्यसले पनि एउटा आकर्षण दिएको मेरो चाहिँ अनुभव छ,’ राजदूत अधिकारी भन्छन् ।
नेपाली अधिकारीहरूका अनुसार नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ । त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो । जसबापत नेपालले करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो ।
तर गत वर्ष साउनदेखि मङ्सिरसम्मको निर्यातको परिमाणको तुलनामा यो आर्थिक वर्षको मङ्सिरसम्म चियाको निर्यात १६ प्रतिशतले घटेको भन्सारको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष आर्थिक वर्षको पहिलो पाँच महिनामा एक करोड किलोग्राम चिया निर्यात गरेको नेपालले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा ७१ लाख किलोग्राम मात्रै चिया निर्यात गरेको छ ।
नेपालमा उत्पादन भएर बजारका लागि सङ्घर्ष गरिरहेको चियाको बजारका लागि आफूले पाकिस्तानमा पहल गरेको राजदूत अधिकारीले बताए । नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ ।
सीसीसी जस्तै अर्थोडक्स चियाको पनि सबैभन्दा ठूलो बजार भारत रहेको बताइन्छ । अर्थोडक्स चाहिँ नेपालमा आठदेखि १० प्रतिशत मात्रै खपत हुने गरेको छ । बाँकी हिस्सामध्ये अधिकांश भारतमा र केही युरोपेली लगायत अन्य देशहरूमा निर्यात हुन्छ ।
झापाको बिर्तामोडमा रहेको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारीका अनुसार पछिल्लो महिना ३५ देखि ४० हजार किलोग्राम चिया पाकिस्तान जाने तयारीमा रहेको बताउँछन् । ‘एक कन्टेनर गइसक्यो । अर्को एक कन्टेनर भन्सारको प्रक्रियामा छ,’ उनले भने ।
पाकिस्तानका लागी नेपालका राजदूत अधिकारीका अनुसार त्यहाँ अझै १०० टन चियाको माग भएको छ । नेपालको सीटीसी चिया निर्यातको प्रमुख बजार भारत हो । बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी पाकिस्तानमा नेपाली चिया निर्यात हुँदा प्रतिस्पर्धी मूल्य हुने भएका कारण उत्पादकलाई फाइदा हुने बताउँछन् ।
‘यहाँको उत्पादन र आपूर्ति प्रणालीमा सरकारी स्तरमै अलिकति गृहकार्य गरेर सम्झौता गर्ने हो भने अहिले नेपाली चियाको बजारमा देखिएको जुन विकराल समस्या छ यसको समाधानको लागि एउटा विकल्प हुनसक्छ,’ उनले भने ।
उनका अनुसार भारतको भन्दा करिब १० रुपैयाँ बढी मूल्य दिन पाकिस्तानी व्यापारीहरू तयार देखिएका छन् । तर चियाको गुणस्तर अनुसार मूल्य फरक पर्ने उनले बताए । ‘पाकिस्तान यो क्षेत्रको चियाको ठूलो उपभोक्ता देश हो । दक्षिण एशियामै ठूलो आयातकर्ता भएकोले आउने दिनमा नेपाली चियाको लागि ठूलो अवसर आउनसक्छ,’ उनले भने ।
नेपाल विश्व व्यापार सङ्घको सदस्य भएका कारण भारतको बाटो हुँदै पाकिस्तानमा निर्यात गर्न कुनै समस्या नहुने अधिकारीहरूको दाबी छ । तर व्यवसायीहरूले पाकिस्तान निर्यात हुने वस्तुमा थप कडाइका साथ जाँच हुने र अन्य व्यवधान हुने गुनासो गर्ने गरेका छन् ।
‘हामी विश्व स्वास्थ्य सङ्घको सदस्य भएका कारण त्यस्तो समस्या छैन । अब अलि नियमित रूपमा जान थालेपछि व्यावहारिक समस्याहरू आउने देखिँदैन,’ अधिकारी भन्छन् । पाकिस्तानी व्यवसायीहरूले आफूसँग आयातमा हुने कठिनाइबारे कुनै गुनासो नगरेको राजदूत अधिकारीले बताए ।
‘नेपालबाट जर्मनी, रुस लगायतका पश्चिमा मुलुकहरूमा पनि भारतकै बाटोबाट जाने हो । पाकिस्तान पनि जसरी अन्य मुलुकमा जाने हो त्यसरी नै जाने हो । भारतीय रुट प्रयोग गर्दा अन्य मुलुकमा जस्तै व्यवहार पाकिस्तान निर्यातलाई पनि होला,’ राजदूत अधिकारीले भने । दुई दशक अघिसम्म नेपालबाट पाकिस्तान चिया निर्यात भइरहेको थियो ।
पछिल्लो समय व्यवसायीहरूले समयमा भुक्तानी नपाएको भन्दै पाकिस्तानमा चिया निर्यात रोकेका थिए । ‘त्यो अवस्थामा हाम्रो उत्पादनको मात्रा कम थियो । अहिले हाम्रोमा चिया उत्पादन बढेको पनि छ,’ बोर्डका अधिकारीले भने । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार भारतबाहेक रुस, चीन र युरोपेली देशहरूमा पनि नेपालको चिया निर्यात बढाउनेबारे पहल भइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं