सूचनाको शक्ति - The Power Of Information

        

कर्जा लिँदा र बचत गर्दा के फाइदा ?

बैंकहरूले घटाउँदै ब्याजदर, अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’

नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने देखिएको छ ।

नेपालका अधिकांश वाणिज्य बैंकहरूले माघ १ गतेदेखि कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन् । निक्षेप बढिरहेको तर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभएकाले अधिकांश वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाएको बताइन्छ । त्यस्तै निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको बैंकहरूले सार्वजनिक गरेका विवरणले देखाएका छन् ।

नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने कतिपय जानकारहरू बताउँछन् । उनीहरूका भनाइमा घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ ।

ब्याजदर घट्नुको कारण के ?

नेपाल राष्ट्र बैंकका अधिकारी तथा बैंकिङ्ग क्षेत्रका जानकारहरूका भनाइमा अहिले निक्षेप अधिक भएर बैंकहरूसँग लगानीयोग्य रकम धेरै भएकाले ब्याजदर कम भएको हो । अहिले बैंकहरूले प्रत्येक महिनाजस्तो ब्याजदरमा हेरफेर गरिरहेका छन् । ‘यो भनेको माग र आपूर्तिकै कुरा हो । अहिले बैंकहरूसँग लगानीका लागि पर्याप्त पैसा छ तर कर्जा प्रवाह खासै भइरहेको छैन,’ एक जना पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले भने ।

त्यसले गर्दा बैंकहरूले कर्जाको ब्याजदर घटाइरहेका छन् । कर्जा घटाउनका लागि आधारदर कम गर्नुपर्यो त्यो भनेको फेरि निक्षेपसँग जोडिएको हुनाले निक्षेपको पनि दर घटेको हो । राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोख्रेल पनि अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको बताउँछन् । ‘निक्षेप र कर्जा दुवै बढिरहेको छ तर निक्षेप बढे अनुरूप कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ । त्यसले ब्याजदर कम हुन थालेको हो,’ उनले भने ।

निक्षेप कतिले बढ्यो ?

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क अनुसार गत मङ्सिरसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ४.६ प्रतिशतले निक्षेप बढेको छ । त्यो भनेको कुल २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर २.२ प्रतिशत मात्र रहेको थियो । त्यो भनेको १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ हुन आउँछ ।

वार्षिक बिन्दुगत आधारमा भने गत मङ्सिर मसान्तसम्म वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको विवरण त्यसमा रहेको छ । बैंकहरूमा बचत गर्नेमध्ये सबैभन्दा धेरै मुद्दती बचतकर्ता रहेका छन् । राष्ट्र बैंकको विवरण अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये ६०.७ प्रतिशत मुद्दती निक्षेपको अंश रहेको छ । त्यस्तै २६.७ प्रतिशत बचत र ६.३ प्रतिशत निक्षेप चल्ती खातामा रहेको छ ।

कर्जा प्रवाहको अवस्था

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ । त्यो भनेको २.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने मात्र ७३ अर्ब ३० करोड अर्थात् १.६ प्रतिशतले मात्र कर्जा बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा गत मङ्सिरसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ । बैंकहरूबाट गएको कर्जामध्ये सबैभन्दा धेरै गैरवित्तीय संस्थागत क्षेत्रतर्फ गएको देखिन्छ । त्यसको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । गत वर्ष भने संस्थागततर्फ ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३५.९ प्रतिशत रहेको थियो ।

निक्षेपको ब्याजदर कतिले घट्यो ?

गत महिनाको तुलनामा माघ महिनामा नेपाली वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर केही कम गरेका छन् । सबै बैंकहरूले घटाएको ब्याजदरलाई औसत मान्दा ब्याजदर करिब एक प्रतिशतले कम भएको देखिन्छ । पुस महिनामा बैंकहरूले एक वर्ष अवधिको निक्षेपमा औसतमा झन्डै ९ प्रतिशत ब्याज दिइरहेकामा यो महिना त्यो करिब ८ प्रतिशतमा झरेको छ । बचत खातामा पनि गत महिनाको तुलनामा झन्डै आधा प्रतिशत ब्याजदर कम भएको बैंकहरूले सार्वजनिक गरेका विवरणहरूले देखाउँछन् । यद्यपि केही बैंकहरूले गत महिनाकै ब्याजदर कायम पनि राखेका छन् ।

कर्जामा पनि घट्यो

निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही कम भएको बैंकहरूले सार्वजनिक गरेका विवरणले देखाउँछन् । माघ महिनामा वाणिज्य बैंकहरूको कर्जाको औसत आधारदर करिब १० प्रतिशत (९.६४ प्रतिशत) को हाराहारीमा रहेको छ । औसत आधारदर १० प्रतिशतको हाराहारी भए पनि केही बैंकहरूले १० प्रतिशतभन्दा कम आधारदर पनि राखेका छन् । बैंकहरूले आधारदरभन्दा दुई प्रतिशतभन्दा अधिक ब्याज लिन नपाउने राष्ट्र बैंकका पोख्रेल बताउँछन् । पूर्व बैंकर कुँवर क्षेत्री चाहिँ बैंकहरूले विस्तारै ब्याजदर कम हुँदै जाने सङ्केत दिएको बताउँछन् ।

ब्याङ्कमा करिब ६ खर्ब लगानीयोग्य रकम

नेपाल राष्ट्र बैंकको विवरण अनुसार हाल ब्याङ्कमा लगानीयोग्य रकम ठूलो मात्रामा रहेको छ । नियम अनुसार निक्षेप कर्जाको अनुपात (सीडी रेसिओ) ९० प्रतिशतसम्म पुर्याउन पाइन्छ । तर अहिले सीडी रेसिओ ८० प्रतिशत हाराहारी झरेको छ । त्यसले गर्दा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ जति रहेको हो । ‘बैंकहरूसँग लगानीयोग्य रकम धेरै छ तर आर्थिक गतिविधि सुस्त भएकाले माग छैन,’ कुँवर क्षेत्री भन्छन् ।

यद्यपि अझै पनि नेपालमा कर्जाको ब्याजदर भारतका तुलनामा महँगो नै भएको उनको भनाइ छ । त्यो भारतको भन्दा सस्तो नहुन्जेल नेपाली लगानीकर्ताले तुलनात्मक रूपमा लाभ पाउन नसक्ने भएकाले कर्जा बढ्ने अवस्था आउन अझै केही समय लाग्ने उनको भनाइ छ । ‘गत नोभेम्बरमा भारतमा कर्जाको औसत ब्याजदर ९.७८ प्रतिशत थियो । हाम्रोमा मङ्सिरमा ११.८५ थियो । अझै पनि हाम्रो तीन प्रतिशत फरक छ,’ उनले भने, ‘त्यो भारतकोभन्दा सस्तो नभइकन नेपालमा कर्जा वृद्धि होला भन्ने मलाई लाग्दैन ।’

कर्जा लिने र बचत गर्नेलाई के फाइदा ?

राष्ट्र बैंकका अधिकारीहरू तथा बैंकिङ्ग क्षेत्रका जानकारहरूका अनुसार कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ । तर छोटो अवधिका लागि निक्षेप गर्नेहरूका लागि भने घाटा हुनसक्छ । ‘ब्याज बढेका बेलामा पाँच वर्षे वा दश वर्षे खालका मुद्दतीमा रकम राख्नेलाई यसले असर पर्दैन, तर छोटो समयका लागि मुद्दतीमा राख्नेहरूलाई पनि असर पर्छ,’ पूर्व बैंकर कुँवर क्षेत्रीले भने । त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्नेले ब्याज कम पाउने अवस्था हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ११:०३

लोकप्रिय