नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । तीन वटा जलविद्युत आयोजना निर्माण सकिएर १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीन वटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सकेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । यसमध्ये माथिल्लो साञ्जेन गतवर्ष असोजमा निर्माण सकिएर व्यावसायिक विद्युत उत्पादन गरी हालसम्म करिब ३० करोड रूपैयाँको विद्युत् बिक्री गरिसकेको प्राधिकरणले जनाएको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सकेर शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षणका रूपमा विद्युत उत्पादन सुरु गरिएको छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सकिएर हाल परीक्षणका रूपमा विद्युत उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि तथा तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायिक उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट मंसिर महिनाभित्रमा व्यवसायिक उत्पादन हुने प्राधिकरणको भनाइ छ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाबाट हिउँद याममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुनेछ ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरू गरिएकोमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी बाहेक तीन वटा आयोजनाहरू सकिएका हुन् । सबै आयोजनाहरू २०७२ सालको विनाशकारी भूकम्प र बाढीपहिरोले पुर्याएको क्षति लगायत कारण निर्माणमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या,प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारी, कोभिड–१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्या लगायतको चपेटामा परेका कारण पनि आयोजना प्रभावित भएको उल्लेख छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सकिनु ठूलो उपलब्धी भएको बताए । ‘काबु बाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागेता पनि अब तीनवटा आयोजनाको निर्माण सकेर विद्युत् उत्पादन सुरू भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँद याममा विद्युत् प्रणालीलाई सन्तुलन बनाउन सहयोग गर्नेछन्,’, कार्यकारी निर्देशक घिसिङले भने ।
भूकम्प, नाकाबन्दी,विदेशीमुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागत बढेको प्राधिकरणले जनाएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड रूपैयाँ थियो ।
आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । उनले आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रूपैयाँ हुने उल्लेख गरे । चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो । कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीयतहको १.२८ प्रतिशत संस्थापक सेयर छ ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानियतह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचय कोष) का कर्मचारी, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ । माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा एक अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ ।
