सूचनाको शक्ति - The Power Of Information

        

रोकिएन चोरी तस्करी

बाँकेका सीमा क्षेत्रमा चोरी तस्करी तीव्र, नियन्त्रण गर्न असफल

नेपाल प्रहरीको मिलेमतोमा चोरी तस्करी मौलाएको सीमा क्षेत्रका नागरिकहरुको दाबी ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको २० लाख रुपैयाँको अवैध सामान ।

सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन ।

खुला सिमाना भएका कारण पूर्णरूपमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । सिमाना नजिक नेपालगन्ज–१५ निवासी साहिल खानले प्रहरी प्रशासनले आफ्नो काम निरन्तर गरिरहे पनि तस्करी भने जारी नै रहेको बताए । प्रायः दैनिकजसो भारतबाट अवैध रूपमा भित्रिएका मालसामान बरामद गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण वागेश्वरी बाँके र मातहतका युनिटहरूले पछिल्लो पटक फेरि २० लाख रुपैयाँको अवैध सामान नियन्त्रणमा लिएपछि चोरी तस्करी निरन्तर जारी रहेको पुष्टि भएको हो । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट काँस तथा पित्तलका भाँडावर्तन, मोटरसाइकलसहित लत्ताकपडा, किराना सामान, फलफूल तथा बिरुवा र गाडीसहित अवैध कुखुरा गरी २० लाखभन्दा बढीका सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार अवैध निकासी पैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानबाट सीमा क्षेत्रका विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

उनका अनुसार एक लाख ४१ हजार ८० रुपैयाँ बराबरका मोटरसाइकलका पार्टस् र एक लाख ५० हजार बराबरको मोटरसाइकल, दुई लाख ४२ हजार मूल्य बराबरका काँस तथा पित्तलका भाँडा, एक लाख ७१ हजार मूल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवा र ५२ हजार मूल्य बराबरका लत्ताकपडासहितका अवैध मालवस्तु बरामद गरेको छ ।

नरैनापुर गाउँपालिका–६, स्थित नन्कउपुर इलाकामा भे १ च ३६१५ नं. को म्याजिक गाडीमा भारतबाट नेपाल ल्याउँदै गरेको बिलबिजक नभएको अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको ८०० केजी अवैध ब्रोइलर कुखुरा र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडी बरामद गरेको छ ।

सोसँगै राप्तीसोनारी गाउँपालिका–७ बस्ने वर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनले बरामद भएका अवैध सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि बताए ।

नेपाल प्रहरीको मिलेमतो चोरी तस्करी

भारतसँग सीमा जोडिएको बाँकेको विभिन्न नाकाबाट हुने चोरी तस्करीमा नेपाल प्रहरीकै मिलेमतो रहेको स्थानीयहरु बताउँछन् । मोटरसाइकलका पार्टस्, काँस तथा पित्तलका भाँडा, लत्ताकपडा, कुखुरामात्रै होइन प्रहरीकै सहयोगमा केराउ, मटर, बदाम लगायत बस्तुको अवैध तस्करी बाँकेमा मौलाएको छ ।

नरैनापुर, फत्तेपुर, खडैचा, जमुनाहा, राधापुर लगायतका क्षेत्रमा नेपाल प्रहरीकै संरक्षणमा तस्करहरुले दिनदहाडै निर्वाध तस्करी चलाइरहेका छन् । तस्करहरुको प्रभावमा नेपाल प्रहरीका उपल्लो तहका अधिकारीहरुले अवैध समान ओसारपसारमा कुनै रोक टोक नगर्न डियुटीमा खटिएका प्रहरीलाई निर्देशन दिएको एक जना प्रहरी जवानले बताए ।

उनले नाम नखेल्न आग्रह गर्दै भने, ‘तस्कर समुहबाट ‘नजराना’ बुझेर खुलेयाम तस्करी धन्धा भइरहेको छ । हामी सिपाहीले माथिको आदेश मान्ने हो । माथिबाटै कडाई नगर्नु भन्ने आदेश छ । कडाई गरेर अवैध सामान पक्रँदा तुरुन्तै छोड्ने आदेश आउँछ ।’ प्रहरी नै असुलीमा व्यस्त भएपछि भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रिएको स्थानीयहरु बताउँछन् ।

सीमा प्रहरी चौकीमार्फत तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेको पनि स्रोतले बतायो । नेपाल भारत सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरीका घुमुवाहरु र सीमामा रहेका प्रहरी चौकीका इन्चार्जहरुको सेटिङमा तस्करी हुँदा अवैध सामानहरुको ओसारपसार तीव्र भएको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् ।

उक्त नाका हुँदै नेपालबाट मदिरा, जुनि लिभरको कस्मेटिक समानहरु र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु तथा भारततर्फबाट भन्सार छलेर जाने गरेको कस्मेटिक र खेलकुदका सामग्रीहरु, ईलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, चिनी, तेल, चामल, स्पेयर पार्टस्, कुखुरा र अन्डा लगायत अवैध सामानहरु नेपालतर्फ तस्करी हुँदै आएका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०८:४६

लोकप्रिय