बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो अत्यधिक बढ्दै गएको छ ।
हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित हुँदै गएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने हवाई उडानहरू प्रभावित भएका छन् ।
विगत तीन दिनदेखि हुस्सु र कुहिरो लागेर शीत लहर सुरु भएको छ भने घाम नलाग्दा चिसोले जनजीवन प्रभावित हुन थालेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाक्लो कुहिरो र हुस्सुसँगै शीत लहर समेत चल्न थालेपछि चिसो बढ्दै गएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।
उहाँले बाँकेमा ‘शीतलहर आकस्मिक योजना’ २०८० स्वीकृत गरेर लागू गरी सकिएकाले शीत लहरमा सर्वसाधारणलाई जोगाउने उपायहरू अपनाउन सुरु गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले चिसो तथा शीतलहरूका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चलाउन स्थानीय तहहरूलाई आग्रह गरिसकिएको बताउनुभयो ।
हवाई उडान अवरुद्ध र प्रभावित
बाक्लो हुस्सु र कुहिरोका कारण मौसम बिग्रिएकाले गत शुक्रबारदेखि नेपालगन्ज विमानस्थलबाट काठमाडौँ, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएका छन् ।
बिहानदेखि बाक्लो हुस्सु र कुहिरो लाग्दा यहाँबाट काठमाडौँ, पोखरालगायत पश्चिम नेपालका पहाडी जिल्लामा हुने सबै हवाई उडान अनियमित र प्रभावित भएका हुन् ।
मौसमको खराबीले पहाडी जिल्लामा हुने बिहानका सबै उडान रद्द हुँदै आएको र काठमाडौँका लागि हुने उडान पाँच घण्टाभन्दा बढी ढिलो गरी हुने गरेको तथा केही उडान रद्द गर्नु परेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
सो कार्यालयका अनुसार अहिले दिउँसो साढे ११ बजेपछि मात्रै विमानस्थल खुल्ने गरेको छ । उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जानका लागि विमानस्थल पुग्ने गरेका सयौँ यात्रु समस्यामा पर्न थालेका छन् । पहाडी जिल्लाका उडान दैनिकजसो रद्द हुँदा धेरै यात्रु सडक यातायातबाट यात्रा गर्न बाध्य भएका छन् ।
मौसमको खराबीले बिहान ९ बजे काठमाडौँ जाने जहाज दिउँसो १२ बजेपछि मात्रै नेपालगन्जबाट उड्ने गरेको बुद्ध एअरका नेपालगन्ज प्रमुख विनीत शाहले बताउनुभयो ।
नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौँ र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुँदै आएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके